संसद भवनको सुरक्षामा सेना परिचालन
काठमाडौं, भदौ २४ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । हिजो (भदौ २३ गते) संसद भवनभित्रै प्रवेश गरी केही युवाहरूले तोडफोड गरेपछि आज संसद भवन परिसरभित्रै हतियारसहितका सेना खटिएका हुन् ।
संसद भवन परिसरभित्र र बाहिर नेपाली सेनाका साथै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि तैनाथ गरिएको छ ।
हिजो जेनजीको प्रदर्शनका क्रममा संसद भवनको पर्खाल तोडफोड भएको थियो भने केही प्रदर्शनकारी भित्र प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा मात्र १७ जनाको ज्यान गएको थियो ।