विश्वकप २०२६: डेम्बेलेको ह्याट्रिकमा फ्रान्सको सानदार जित, समूह ‘आई’ को विजेता बन्दै नकआउटमा प्रवेश

 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा साविक उपविजेता फ्रान्सले नर्वेमाथि ४–१ गोलअन्तरको फराकिलो जित दर्ता गरेको छ । ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकको मद्दतले फ्रान्स समूह ‘आई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

डेम्बेलेको आक्रामक ह्याट्रिक
खेलको सुरुवातमै फ्रान्सले नर्वेमाथि दबाब बनाएको थियो । फ्रान्सेली स्ट्राइकर ओस्मान डेम्बेले आजको खेलमा पूर्ण लयमा देखिए । उनले खेलको सातौं मिनेटमै पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ३२ औं मिनेटमा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । पहिलो हाफको ३२ मिनेटभित्रै डेम्बेलेको ह्याट्रिकको मद्दतले फ्रान्स ३–० को बलियो स्थितिमा पुगिसकेको थियो ।

नर्वेको संघर्ष र अन्तिम गोल
खेलको २१ औं मिनेटमा नर्वेका लागि थिलो आस्गार्डले एक गोल फर्काउँदै खेलमा फर्किने संकेत दिएका थिए । तर, फ्रान्सको बलियो रक्षापंक्ति र नियन्त्रित खेलका अगाडि नर्वेका अन्य प्रयासहरू सफल हुन सकेनन् । खेल सकिनै लाग्दा इन्जुरी समयमा डिजिरे डुएले थप एक गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित सुनिश्चित गर्‍यो ।

समूह ‘आई’ को समीकरण
यो जितसँगै फ्रान्सले समूह चरणका तीनै खेल जितेर स्पष्ट ९ अंकका साथ समूह विजेताको रूपमा अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ । पराजित भए पनि नर्वे ३ खेलबाट ६ अंक जोड्दै समूह उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भएको छ ।

यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० को फराकिलो अन्तरले पराजित गरेपछि ३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । सेनेगलको पनि उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरणमा पुग्ने गणितीय सम्भावना अझै जीवितै रहेको छ । इराक भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।