रेविज खोपको अभाव टार्न काठमाडौँ महानगरद्वारा शुक्रराज अस्पताललाई १८ सय भाइल खोप सहयोग

काठमाडौँ,  असार १२  । काठमाडौँ महानगरपालिकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । अस्पतालमा खोपको मौज्दात न्यून भई अभाव हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै महानगरले सो सहयोग प्रदान गरेको हो ।

बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पताल पुगेर उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभयो। खोप हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले सम्भावित जनस्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न महानगरले तदारुकता देखाएको बताउनुभयो। ‘रेविज एक प्राणघातक रोग हो, जसमा लक्षण देखा परेपछि उपचार सम्भव हुँदैन  ।’ उहाँले भन्नुभयो, ‘अस्पतालमा खोप अभाव हुन लागेको जानकारी पाएपछि नागरिकको जीवन रक्षाका लागि हामीले तत्काल यो सहयोग उपलब्ध गराएका हौँ ।’

अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले खरिद प्रक्रियामा रहेको ढिलाइका कारण खोपको मौज्दात कम भएको र महानगरसँग सहयोग माग गरिएको जानकारी दिनुभयो। महानगरले माग गरेको सात दिनभित्रै खोप उपलब्ध गराएकोमा धन्यवाद दिँदै उहाँले भन्नुभयो,  ‘अस्पतालमा दैनिक २०० भन्दा बढी व्यक्ति रेविज विरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरले उपलब्ध गराएको यो खोपले आगामी ९ दिनसम्मको सेवालाई निरन्तरता दिन सहज हुनेछ ।’

अस्पतालमा खोप खरिद प्रक्रिया जारी रहेको र नयाँ स्टक नआउन्जेलसम्मका लागि महानगरको यो सहयोगले बिरामीहरूलाई खोप सेवाबाट वञ्चित हुनबाट जोगाउने विश्वास व्यक्त गरिएको छ ।