सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानको शुभारम्भ : वडा नं ७ पहिलो ‘बालमैत्री वडा’ घोषित

काठमाडौँ, असार १२ ।  सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने अभियान औपचारिक रूपमा सुरु भएको छ। नगरप्रमुख बासुदेव थापाले बुधबार सूर्यविनायक–७, गुण्डुलाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गर्दै यस अभियानको श्रीगणेश गर्नुभएको हो ।

वडा घोषणा कार्यक्रममा नगरप्रमुख थापाले गुण्डु वडालाई प्रमाणपत्र प्रदान गर्दै चालू साताभित्रै नगरपालिकाका सबै १० वटै वडालाई बालमैत्री घोषणा गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो । ‘सरकारले तोकेका ५१ वटा सूचकहरू पूरा गरेसँगै हामीले वडास्तरबाट घोषणा सुरु गरेका हौँ ।’ उहाँले भन्नुभयो, ‘सबै वडाको घोषणा सम्पन्न गरी बागमती प्रदेश सरकारबाट अनुगमन र निरीक्षण भएपछि आगामी भदौभित्र सूर्यविनायक नगरपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने हाम्रो तयारी छ।’

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाका अनुसार बालमैत्री शासनका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासँग सम्बन्धित ५१ वटा सूचकहरूमा ९५ देखि १०० प्रतिशतसम्म प्रगति हासिल गरिएको छ। अभियान अन्तर्गत बालविवाह, बालश्रम र हिंसालाई पूर्णतः निषेध गरिएको छ भने शतप्रतिशत जन्मदर्ता, पूर्ण खोप र विद्यालय भर्ना सुनिश्चित गरिएको छ ।

यस प्रक्रियामा ‘बाल बचाउ’ अन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी, ‘बाल संरक्षण’ अन्तर्गत शारीरिक तथा मानसिक हिंसाको अन्त्य, र ‘बाल विकास’ अन्तर्गत बालमैत्री पूर्वाधार एवं स्थानीय योजना तर्जुमामा बालबालिकाको अर्थपूर्ण सहभागिता जस्ता विषयलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाले यस अभियानका लागि प्रत्येक वडालाई १० लाखका दरले १ करोड र नगरपालिकाको तर्फबाट ७० लाख गरी कुल १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक सभापति सुजाता बाडे लगायतका जनप्रतिनिधिहरूले नगरपालिकाको यस कदमको प्रशंसा गर्नुभएको थियो ।

घोषणा सभामा अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने बाल सञ्जाल, स्वास्थ्य स्वयंसेविका, विद्यालय, रेडक्रस र विभिन्न सामाजिक संस्थाहरूलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो। सूर्यविनायकले सुरु गरेको यो अभियानले बालबालिकाको अधिकार सुनिश्चित गर्दै नगरको समग्र सामाजिक विकासमा महत्त्वपूर्ण इँटा थप्ने विश्वास गरिएको छ ।