एसियाडका लागि नेपालबाट ४३४ खेलाडी दर्ता
काठमाडौँ, १ आसोज । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले २० औँ एसियाली खेलकुदमा नेपालबाट ४३४ खेलाडी सहभागी हुने जनाएको छ । एनओसीले बुधबार प्रेस विज्ञप्तिमार्फत् आयोजक कमिटीमा ‘इन्ट्री बाई’ दर्ता नम्बर प्रक्रिया सम्पन्न भएको जानकारी दिएको छ ।
एनओसीले एसियाडका लागि खेलाडी सङ्ख्या दर्ता गर्ने अन्तिम मिनेट सेप्टेम्बर १६ मा यसअघि दर्ता भएका ३० खेलसहत तेक्वान्दो र फुटबलका खेलाडी पनि थप गरिएको छ । एथलेटिक्स संघबाट कुनै जानकारी नआएकाले विगतको सहभागिता हेरेर नेपाल ओलम्पिक कमिटीले एक पुरुष र एक महिला गरी दुई जना म्याराथन खेलाडीको नाम दर्ता गरेको छ । यससम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पटकपटक पत्राचार गर्दा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट खेलाडीको सङ्ख््याका बारेमा कुनै जानकारी प्राप्त नभएपछि पहिला दर्ता गरिएका ३० खेलसँग सम्बन्धित संघबाट सम्भावित खेलाडीको सङ्ख्या उपलब्ध गराएको जनाइएको छ ।
एनओसीले दर्ता गरेअनुरुप आगामी एसियाडमा नेपालबाट ३२ खेलका २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ जना खेलाडीको सहभागिता रहनेछ । एसियाडमा नेपालबाट फुटबल तेक्वान्दो र एथलेटिक्ससहित आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोट्र्स क्लाइम्बिङ्ग, स्क्वास, पौडी, टेनिस, भलिबल, भारतोलन, उसु, टेबलटेनिस, कुस्ती र सफ्ट टेनिसमा सहभागिता जनाउनेछ ।
।
आगामी एसियाड सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म जापानको आइची र नागोया शहरमा हुँदैछ ।