मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेबाट खुल्ने

चितवन, ५ असोज । मुग्लिन नारायणगढ सडकखण्डमा असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो निरन्तर झरिरहेकाे छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । यद्यपी पहिराे खुलाउने प्रयास जारी छ ।

डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिनेपनि जनाएकाे छ ।

अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको हाे ।

मुग्लिनतर्फबाट नारायणगढ आउने र नाराणगढबाट मुग्लिनतर्फ जाने सयौं सवारी साधान बीच बाटोमा नै रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ । त्यस्तै काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् ।