पहिरो पन्छाएसंगै मुग्लिन-नारायणगढ सडक दुईतर्फी सुचारू
काठमाडौं,९ असोज । चितवन इच्छाकामनाको तुइन खोलामा गएकाे ठूलो पहिरो पन्छाएसंगै मुग्लिन-नारायणगढ सडक सुचारू भएकाे छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो ।
यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।
पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो ।
यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।