सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो चुनौती र नियन्त्रणका उपाय
काठमाडौँ, असोज १० । सुदूरपश्चिम प्रदेशमा रेबिज सङ्क्रमणको अवस्था चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा सङ्कलन गरिएका १७० नमुनामध्ये १३६ वटामा रेबिज पुष्टि भएको छ । यो तथ्याङ्कले रेबिजको बढ्दो जोखिमलाई प्रस्ट पार्छ ।
जिल्लागत रुपमा हेर्दा कैलालीमा लिइएका ९८ नमुनामध्ये ७८ मा संक्रमण देखिएको छ । कञ्चनपुरमा लिइएका ५३ नमुनामध्ये ४३ मा, अछाममा लिइएका ७ नमुनामध्ये ५ वटामा, बझाङमा ३ नमुनामा सङ्क्रमण भेटिएको छ । यस्तै डोटीमा ८ नमूनामध्ये ६ वटामा संक्रमण देखिएको छ ।
वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार, रेबिज सङ्क्रमण फैलाउनमा कुकुरको मुख्य भूमिका रहेको छ । परीक्षण गरिएका ८७ कुकुरका नमुनामध्ये ७२ मा रेबिज पुष्टि भएको छ । कुकुरबाहेक अन्य जनावरमा पनि सङ्क्रमण देखिएको छ ।
भैँसीका ३२ वटा नमूनामध्ये २२ वटामा, गाईगोरुका २६ नमूनामध्ये २३ वटामा, बाख्राका ११ नमूनामध्ये ८ वटामा, बङ्गुरका ७ वटा नमूनामध्ये ५ वटामा, घोडाका २ वटा नमूनामा संक्रमण देखिएको छ । यस्तै खरायोको एउटा नमूनामा संक्रमण देखिएको छ ।
प्रयोगशालाले आव २०७६÷७७ बाट रेबिज रोगको अन्वेषण तथा सर्भिलेन्स सुरु गरेको थियो । सुरुमा २ नमूनामा मात्र पोजेटिभ देखिएको थियो । यो संख्यामा निरन्तर वृद्धि भएर २०७९÷८० मा १५७ वटा नमूना र
चालु वषमा १३६ वटा नमूनामा संक्रमण देखिएको छ ।