दक्षिणपश्चिम पाकिस्तानको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते

काठमाडौँ, असोज १४ । दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले यसको पुष्टि गर्नुभएको छ । राजधानी क्वेटामा स्थानीय समयअनुसार बिहान ११:३० बजेतिर भएको उक्त आक्रमणमा आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काएपछि विस्फोट भएको थियो । सिन्ह्वाका अनुसार सुरक्षा स्रोतहरूले नाम नखुलाउने शर्तमा चार जना आतंककारी भवनभित्र प्रवेश गरेको बताएका छन् ।

आक्रमणपछि सुरक्षा बलको जवाबी कारबाहीमा ती आतंककारीहरू मारिएका थिए र उनीहरूको शव अनुसन्धानका लागि लगिएको स्रोतले जनाएको छ । क्वेटामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उद्धृत गर्दै सिन्ह्वाले मृतकहरूमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको बताएको छ। घाइतेहरूमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी छन् ।

विस्फोट हुँदा घटनास्थलमा बस र रिक्सा पनि रहेकाले अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको जानकारी दिइएको छ ।घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको छ । जहाँ धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उद्धृत गर्दै सिन्ह्वाले शहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ उच्च सतर्कताका साथ चुनौतीको सामना गर्न तयार रहेको जनाएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतंककारीहरूलाई कानूनबमोजिम कारबाही गरिने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *