इजरायलद्वारा गाजातर्फका ४० जहाज नियन्त्रणमा : २५ जना टर्की कार्यकर्ता पक्राउ

काठमाडौँ, असोज १६ । गाजा पट्टीमा जारी नाकाबन्दीको विरोध गर्दै मानवीय सहायता पुर्‍याउने उद्देश्यले गाजातर्फ गइरहेका ४४ वटा पानीजहाजमध्ये ४० वटालाई इजरायली सेनाले रोकेको फ्लोटिलाका आयोजकहरूले बताएका छन् । यस क्रममा इजरायली सेनाले जहाजहरूमा आक्रमण गरी २५ जना टर्की कार्यकर्ताहरूलाई पक्राउ गरेको उनीहरूको दाबी छ । फ्लोटिलाका आयोजकहरूले जारी गरेको विज्ञप्तिमा इजरायली सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘अवैध छापा’ मारेको उल्लेख छ । उनीहरूले इजरायलको यस कार्यलाई अन्तर्राष्ट्रिय कानून र समुद्री सुरक्षाको गम्भीर उल्लङ्घन भएको बताएका छन् । विज्ञप्तिमा फ्लोटिला पूर्ण रूपमा मानवीय उद्देश्यका लागि स्थापित भएको कुरामा जोड दिइएको छ ।

मिडिया स्रोतहरूका अनुसार इजरायलले अधिकांश जहाजहरूलाई रोके पनि कम्तिमा दुईवटा जहाजले गाजा पट्टीमा आफ्नो यात्रा जारी राखेका छन् । यो पहिलो पटक हो कि करिब ५० वटा जहाजहरू एकैसाथ गाजातर्फ यात्रा गरेका थिए, जसमा मानवीय सहायता (विशेष गरी चिकित्सा आपूर्ति) का अतिरिक्त ४५ भन्दा बढी देशका ५३२ नागरिक समाजका कार्यकर्ताहरू सवार थिए । गाजामा घेराबन्दी तोड्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय समितिले पनि इजरायलले फ्लोटिलाका केही जहाजहरूमा छापा मारेको पुष्टि गरेको छ ।

एम्नेस्टी इन्टरनेसनल लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले फ्लोटिलाको सुरक्षाका लागि आह्वान गरेका छन् भने संयुक्त राष्ट्र संघले यसमा भएको कुनै पनि आक्रमण ‘अस्वीकार्य’ भएको बताएको छ ।