विपद् प्राधिकरणकाे उर्दी – अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्नू
काठमाडौं, १६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न उर्दी जारी गरेकाे छ ।
प्राधिकरणले उच्च सतर्कताका लागि अनुरोध गर्दै यस्तो आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ ।
विभागले नारायणी, बागमती, कमला र कोशी नदीमा बहावकाे खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।
विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेकाे पनि प्राधिकरणले जनाएकाे छ ।