मौसम अपडेट

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द : उच्च वर्षा र विपद्को जोखिम

काठमाडौँ, असोज १८ । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको पूर्वानुमान जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय ललितपुरले यो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्नका लागि यो निर्णय गरिएको उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गर्नुभएको उक्त सूचनामा यात्रु तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्नका लागि आग्रह गरिएको छ । कान्ति लोकपथ बन्द गरिएपछि यस मार्गबाट यात्रा गर्ने यात्रुहरूलाई असुविधा हुने भए पनि मानवीय क्षति र भौतिक संरचनाको सुरक्षाका लागि यो कदम चालिएको हो ।