इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको संख्या ६७ पुग्यो

काठमाडौँ, असोज २१ । इन्डोनेसियामा गत हप्ता भएको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी कार्य मंगलबार समाप्त भएको छ । यस दुर्घटनामा मृतकको संख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् । इन्डोनेसियाको जाभा टापुमा रहेको एक बहुतले इस्लामिक बोर्डिङ स्कूलको एक भाग सेप्टेम्बर २९ मा दिउँसो प्रार्थनाका लागि १७० भन्दा बढी विद्यार्थीहरू भेला भएका बेला भत्किएको थियो ।
राष्ट्रिय खोजी र उद्धार एजेन्सी (बसरनास) का प्रमुख मोहम्मद सियाफीले पत्रकार सम्मेलनमा भन्नुभयो, “नवौँ दिनमा प्रवेश गर्दै हामीले पीडितहरूका लागि खोजी र उद्धार अभियान सम्पन्न गरेका छौँ ।” एजेन्सीका अपरेसन निर्देशक युधि ब्रामान्ट्योले थप्नुभयो, “उद्धार गरिएका पीडितहरूको कुल सङ्ख्या १७१ छ । ६७ जनाको मृत्यु भएको छ । जसमा आठ शरीरका अङ्गहरू समेत छन् । १०४ जना बाँचेका छन् । उद्धारकर्ताहरूले दुर्घटनास्थलमा रहेका सबै भग्नावशेष सफा गरिसकेका छन् र थप शव फेला पर्ने सम्भावना कम छ ।”
राष्ट्रिय विपद् एजेन्सी (बिएनपिबी) का उपप्रमुख बुदी इरावानले पनि अब थप शवहरू रहेको सम्भावना धेरै कम भएको बताउनुभयो । अहिलेसम्म १७ वटा शव मात्र पहिचान भएका छन् । बिएनपिबीका अनुसार यो यस वर्ष इन्डोनेसियामा भएको सबैभन्दा घातक प्रकोप हो। अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणको जाँच गरिरहेका छन् । प्रारम्भिक सङ्केतहरूले भवन निर्माण मापदण्डको उल्लङ्घन र संरचनागत कमजोरीलाई सम्भावित कारणको रूपमा देखाएका छन् ।
घटनापछि ७२ घण्टाको ‘सुनौलो अवधि’ पछि बेपत्ता भएका परिवारका सदस्यहरूले भारी उपकरण प्रयोग गर्न सहमति जनाएका थिए ।यसैगरी, सेप्टेम्बरमा पश्चिम जाभामा प्रार्थनाको समयमा अर्को भवन ढलेपछि कम्तीमा तीन जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।