७ जना नेपाली अमेरिकाबाट डिपोट : यौन दुराचारलगायतका कसुर

काठमाडौँ, असोज २२ । अमेरिकाले यौन दुराचार लगायतका आपराधिक क्रियाकलापमा दोषी ठहर भएका ७ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ । डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा २८ देखि ३९ वर्ष उमेर समूहका यी नेपालीहरूलाई डिपोर्ट गरिएको हो ।
अमेरिकाबाट सञ्चालित खसोखास डटकमका अनुसार, उनीहरूलाई यौन दुराचार र शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका विभिन्न अभियोगमा नेपाल डिपोर्ट गरिएको हो । यी नेपालीहरूलाई न्युयोर्कको जोन एफ केनेडी विमानस्थल, नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, भर्जिनिया, एरिजोना र टेक्सासबाट डिपोर्ट गरिएको थियो।
को कहिले डिपोर्ट भए?
जुलाई १५: यौन आक्रमण र शारीरिक दुर्व्यवहारको आरोपमा ३९ वर्षका एक नेपालीलाई न्युयोर्कको जोन एफ केनेडी विमानस्थलबाट नेपाल फर्काइएको छ । उनलाई अप्रिल २४ मा देशनिकालाको आदेश दिइएको थियो ।
मार्च ६: मेरिल्याण्ड बस्दै आएका ३६ वर्षीय एक नेपालीलाई नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देशनिकाला गरिएको छ । उनलाई जनवरी १७ मा अदालतले देश निकालाको आदेश दिएको थियो ।
जुन १०: डकैतीमा संलग्न २८ वर्षीय एक नेपालीलाई एरिजोनाबाट नेपाल फर्काइएको छ ।
अप्रिल २९: हतियारको प्रयोग गरी आक्रमणमा दोषी ठहर भएका ३४ वर्षीय नेपालीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश निकाला गरिएको छ ।
जुन ३: टेक्सासमा बस्दै आएका ३० वर्षीय एक नेपाली पुरुष नाबालिगसँग अश्लील च्याट गरेको आरोपमा दोषी ठहर भई भर्जिनियाबाट नेपाल डिपोर्ट भएका छन् । उनलाई सन् २०२४ डिसेम्बर ९ मा दोषी ठहर गरिएको थियो ।
जुन १०: मेरिल्याण्डका अर्का ३५ वर्षीय नेपाली पुरुष पनि सोही अभियोगमा दोषी ठहर भई एरिजोनाबाट डिपोर्ट भएका छन् ।
मिति अज्ञात: मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा दोषी ठहर भएका ३७ वर्षीय एक नेपालीलाई टेक्सासबाट कतार हुँदै डिपोर्ट गरिएको छ । उनलाई सन् २०११ मार्च २९ मा दोषी ठहर गरिएको थियो भने अध्यागमन अदालतले सन् २०१७ जुलाई १९ मा डिपोर्टको आदेश दिएको थियो ।