भारतको हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृत्यु

एजेन्सी, २२ असाेज । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो । बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए । मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।
राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते बालबालिकालाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । अन्य बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धार कार्य बुधबार पनि जारी रहेको प्रहरीले जनाएको छ ।
गत सोमबारदेखि हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेको छ । वर्षाले कमजोर पहाडी भूभागहरूलाई अस्थिर बनाएको बताइएको छ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुःखद घटनामा शोक व्यक्त गर्नुभएको छ ।
यस वर्षको तीव्र वर्षाले दक्षिण एसियाका धेरै देशहरू—भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, अफगानिस्तान, माल्दिभ्स र नेपाल—मा बाढी र भूस्खलनजस्ता प्रकोपहरू निम्त्याइरहेका छन् ।