नोवेल पुरस्कार
रसायन शास्त्रतर्फ नोबेल पुरस्कार : ३ देशका ३ रसायन शास्त्रीलाई दिने घोषणा

काठमाडौँ, असोज २२ । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका तीन वैज्ञानिकले संयुक्त रूपमा दिने घोषणा नोबेल पुरस्कार छनौट समितिले गरेको छ । पुरस्कार समितिका अनुसार ’मेटल–अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ) को विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो। समितिका अनुसार उनीहरूले ’मलिक्यूलर आर्किटेक्चर’ को नयाँ शैली विकास गरेका छन् ।
धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो । पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन् । यसअघि नोबेल पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फ र मङ्गलवार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरिसकेको छ । अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्र विधाका विजेताको नाम घोषणा हुनेछ । क्योटो विश्वविद्यालयमा प्राध्यापक कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो ।
पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको बताउनुभयो । यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो। उहाँ बक्र्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक हुनुहुन्छ । रब्सनको जन्म सन् १९३७ मा बेलायतमा भएको थियो भने उहाँ अहिले मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उनीहरूले सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए । त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन् ।