हाइब्रिड युद्ध

‘‘इयुले रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध दृढ जवाफ दिनुपर्छ” – भोन डेर लेयन

काठमाडौँ, असोज २२ । युरोपेली सङ्घ (इयु) की अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपले रुसको ‘हाइब्रिड वारफेयर’ अर्थात् मिश्रित युद्धको रणनीतिको सामना गर्न आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनुपर्ने बताउनुभएको छ । युरोपेली संसद्मा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यी घटना कुनै संयोग होइनन्, न त आकस्मिक उत्पीडनका उदाहरण हुन् । यो त व्यवस्थित र विस्तार हुँदै गएको अभियान हो ।” उहाँले दुईवटा घटना संयोग हुन सक्ने तर पाँच वा १० वटा यस्ता घटनाहरूले युरोपविरुद्धको नियोजित र लक्षित ‘ग्रे जोन’ अभियान स्पष्ट पार्ने बताउँदै “युरोपले अब निर्णायक जवाफ दिनैपर्छ” भन्नुभयो ।

हालै पोल्यान्ड, इस्टोनिया र रोमानियामा रुसका हवाई आक्रमणहरू भएको र डेनमार्क, जर्मनी तथा बेल्जियममा अज्ञात ड्रोनहरू देखिएको बताइएको छ । युक्रेनमा मस्कोको युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सहयोगको भविष्यबारे अनिश्चितताका कारण युरोपेली राष्ट्रहरूले शीतयुद्धपछिको उच्च स्तरमा रक्षा खर्च बढाएका छन् । इयु अहिले २७ सदस्य राष्ट्रबीच संयुक्त सुरक्षा परियोजनाहरूको योजना बनाइरहेको छ, जसमा ड्रोनविरोधी प्रतिरक्षा प्रणालीको ‘सुरक्षात्मक पर्खाल’ निर्माणको प्रस्ताव पनि समावेश गरिएको छ ।

“हामीले प्रतिक्रिया दिन मात्र होइन, अग्रिम रोकथाम पनि गर्नुपर्छ। यदि हामी ढिलाइ गर्छौं भने ‘ग्रे जोन’ अर्थात् खतरा क्षेत्र झन् फैलिँदै जानेछ,” भोन डेर लेयनले चेतावनी दिनुभयो । उहाँका अनुसार इयुको संस्थापक उद्देश्य शान्ति कायम राख्नु हो र आजको सन्दर्भमा त्यसको अर्थ आक्रामकता र उक्साहट रोक्ने क्षमता राख्नु हो । यस महिनाको अन्त्यमा ब्रसेल्समा हुने इयु शिखर सम्मेलनमा युरोपेली नेताहरूले सन् २०३० सम्मका लागि रुसबाट हुने सम्भावित खतराहरूका विरुद्ध तयारी गर्ने ‘सुरक्षा रोडम्याप’ मा सहमति गर्ने प्रयास गर्नेछन् ।

“यो रोडम्यापले साझा उद्देश्यहरू मात्र होइन, ठोस माइलस्टोन र समयसीमा पनि निर्धारण गर्नेछ । किनभने हामी सबैलाई थाहा छ, मापन हुने कुरा नै वास्तविकता हो,” भोन डेर लेयनले भन्नुभयो । उहाँले ‘रुसको हाइब्रिड युद्ध’ लाई सामना गर्न युरोपेली मुलुकहरूले ‘पूर्ण रूपमा नयाँ सोच र दृष्टिकोण’ अपनाउनुपर्ने आवश्यकता रहेको पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो विकल्प स्पष्ट छ। हामी भाग्न सक्छौँ र रुसी खतराको विस्तार हेरेर बस्न सक्छौँ, वा हामी एकता, दृढता र सङ्कल्पका साथ तिनको सामना गर्न सक्छौँ ।”