तटबन्ध भत्किँदा करोडौँ मूल्यका माछा बगे
काठमाडौँ, असोज २३ । महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काउँदा माछापालक किसानहरूले करोडौं मूल्य बराबरको माछा गुमाएका छन् । जिल्लाका ८०० हेक्टर पोखरीमध्ये करिब ४०० हेक्टरमा बाढी पसेको थियो। बाढीले करिब १० करोडभन्दा बढीको माछा बगाएको माछापालकहरूको दाबी छ ।
गत आइतबार र सोमबारको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका र एकडारा, महोत्तरी, पिपरा गाउँपालिकाका करिब दुई सय पोखरीबाट ३५ हजार क्विन्टल माछा बगाएको मनरासिश्वा-५ का माछापालक रामसुदिश शरणले जानकारी दिनुभयो ।
बाढीले रामविशेष शरण, सुशिल सहनी, भरत सहनी, जामुन मुखिया, सुनिल साह, शङ्कर साह, रञ्जीत शरण, फूलकुमारीदेवी, मरमानन्द मुखिया, ईनरजीत मुखियालगायतका दर्जनौं किसानका पोखरी डुबानमा परेका छन्। जलेश्वर नगरपालिका–१ का माछापालक शङ्कर साहका अनुसार यसबाट करोडौंको क्षति भएको छ। बैंकबाट ऋण लिएर माछा पालेका पीडित किसानहरूले सरकारसँग अनुदान र क्षतिपूर्तिको माग गरेका छन्।