फ्रान्समा नयाँ प्रधानमन्त्री ४८ घण्टाभित्र घोषणा हुने
पेरिस । फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोंले नयाँ प्रधानमन्त्रीको नाम ४८ घण्टाभित्र सार्वजनिक गर्ने घोषणा गरेका छन्। राष्ट्रपति माक्रोंले सरकारको नेतृत्व परिवर्तनको तयारी गरिरहेका छन्, जसले नयाँ निर्वाचनको अड्कललाई केही हदसम्म टारिदिएको छ।
बुधबार, पदबाट राजीनामा दिएका कार्यवाहक प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पछिल्लो दुई दिनको राजनीतिक संवादपछि संसद् विघटनको सम्भावना कम हुँदै गएको बताएका थिए। ‘संसदमा एउटा बहुमत अझै बाँकी छ, र त्यो बहुमत चाँडै नयाँ निर्वाचन चाहँदैन,’ उनले भने। लेकोर्नु, राष्ट्रपति माक्रोंका निकट सहयोगी, एक वर्षभित्र पद छाड्ने तेस्रा प्रधानमन्त्री बनेका हुन्। जुलाई २०२४ को आकस्मिक निर्वाचनपछि फ्रान्समा कुनै एकल दललाई बहुमत नपुगेपछि देश राजनीतिक संकटमा फसेको छ।
‘पछिल्ला दुई प्रधानमन्त्री मिशेल बार्नियर र फ्रान्स्वा बाय्रुले कठोर बजेट प्रस्ताव पेश गरेपछि संसदबाट विश्वासको मत गुमाएर पद गुमाएका थिए,’ लेकोर्नुले भने ‘नयाँ बजेट प्रस्ताव आगामी साता प्रस्तुत गरिनेछ, तर त्यसमा बहसको लागि खुला स्थान रहनेछ।’ उनले सबै राजनीतिक दलहरूलाई बजेट हेर्नु अघि अस्वीकार नगर्न आग्रह गरे।
तर, संसदभित्र गहिरो विचारधारात्मक विभाजनका कारण स्थायी सरकार गठन गर्ने बाटो अझै जटिल देखिन्छ। प्रमुख दलहरू २०२७ को राष्ट्रपति निर्वाचनलाई ध्यानमा राखेर रणनीति बनाइरहेका छन्। ‘जो सरकारले नेतृत्व लिन्छ, उसले राष्ट्रपति पदको आकांक्षा नराख्नुपर्नेछ,’ लेकोर्नुले टेलिभिजन अन्तर्वार्तामा भने। उनका अनुसार, बहुमत सांसदहरूले पनि वर्षअन्त्यसम्म बजेट पारित गर्नु आवश्यक रहेको स्वीकार गरेका छन्। तर, विपक्षी दलहरू अझै अडिग देखिन्छन्। वामपन्थी ‘फ्रान्स अनबाउड’ की नेता माथिल्द पानोले माक्रोंको राजीनामा मात्र समाधान भएको बताइन्। उता, अतिदक्षिणपन्थी ‘नेशनल र्याली’ नेतृ मारीन ल पेनले कुनै पनि नयाँ सरकारलाई अस्वीकार गर्ने बताएकी छन्।
यस अवस्थामा, लेकोर्नुले पछिल्ला ४८ घण्टामा समाजवादी दलहरूलाई समर्थनका लागि मनाउन सके कि सकेनन् भन्ने प्रश्न अझै अनुत्तरित छ। सरकार सञ्चालन गर्दै आएको मध्यमार्गी र रिपब्लिकनहरूको संयुक्त गठबन्धन विघटनको स्थितिमा पुगेको छ।
राष्ट्रपति माक्रोंले अझै सार्वजनिक रूपमा केही बोलेका छैनन्। लेकोर्नुका अनुसार ‘राष्ट्रपतिले चाँडै फ्रान्सेली जनतालाई सम्बोधन गर्नेछन्’ तर कहिले भन्ने भने खुलाइएको छैन।
यसैबीच, माक्रोंका निकट सहयोगी गेब्रिएल अत्तालले समेत राष्ट्रपति माक्रोंबाट दूरी बनाउँदै ‘अब म उनलाई बुझ्न सक्दिनँ’ भनेका छन्। उनले स्वतन्त्र वार्ताकार नियुक्त गर्ने प्रस्ताव समेत राखेका छन्।
फ्रान्सको सार्वजनिक ऋण हाल ३.४ ट्रिलियन पुगेको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको ११४ प्रतिशत हो। यो युरोजोनको तेस्रो उच्चतम ऋण अनुपात हो ग्रीस र इटालीपछि।
अब प्रश्न यति मात्र हो — माक्रोंको नयाँ प्रधानमन्त्रीको छनोटले देशलाई स्थिरता त दिलाउनेछ, कि राजनीतिक संकट झन् गहिरिँदै जानेछ ।
