भेनेजुएलाकी मारिना कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार
काठमाडाैं, २४ असाेज । सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ।
नर्वेली पुरस्कार समितिले मचाडोलाई “आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा” भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।
शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्यो।
उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन्। गत वर्ष उनलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोकिएको थियो। उनी अहिले भूमिगत छिन्।
मचाडो नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन्। सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ। अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन्।
मचाडो ५८ वर्षकी भइन्। उनी गत वर्ष अगस्टदेखि हतपत सार्वजनिक स्थानमा उपस्थित भएकी छैनन्।
भेनेजुएलामा निरङ्कुश शासनव्यवस्था छ। भेनेजुएलामा निकोलस मदुरो तेस्रो पटक राष्ट्रपति बनेपछि उनीविरुद्ध र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न भन्दै सुरु भएको आन्दोलनमा मचाडो अग्रमोर्चामा देखिएकी थिइन्।
चुनाव परिणाम सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शनहरू भए । ती प्रदर्शनलाई सरकारी दमनबाट दबाइयो । त्यसबेला उनलाई अल्पकालीन रूपमा गिरफ्तार गरियो, र पछि रिहा गरिएको थियो। उनी २०२४ देखि भूमिगत अवस्थामा बसिरहेकी छन् ।
मचाडोले नोबेल शान्ति पुरस्कार पाएको थाहा पाउँदा आफू “छक्क परेको” प्रतिक्रिया व्यक्त गरेकी छन्।
गत वर्ष जापानी संस्था ‘निहन हिडन्क्यो’लाई “विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणुअस्त्र पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले” नोबेल शान्ति पुरस्कारले पुरस्कृत गरिएको थियो।
यो वर्ष शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो। उनी लामो समयदेखि उक्त पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।
उनको कार्यकाल सुरु भएको जनवरी महिनामै शान्ति पुरस्कारका लागि मनोनयन गर्नुपर्ने समयसीमा टुङ्गिएको थियो।
पुरस्कार घोषणा भएपछि आयोजित पत्रकार सम्मेलनमा नोबेल शान्ति समितिका अध्यक्षलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफैँले र अन्य अन्तर्राष्ट्रिय पक्षले ट्रम्पलाई पुरस्कृत गर्न दबाव दिए नदिएकोबारे प्रश्न गरिएको थियो।
उत्तर दिँदै योर्गन भ्याट्न फ्रुएड्नसले नोबेल शान्ति पुरस्कारको लामो इतिहासमा समितिले अनेकौँ अभियान र ‘मिडिया टेन्शन’ खेप्दै आएको बताए। “हामी केवल काम र अल्फ्रेड नोबेलको इच्छालाई आफ्नो निर्णयको आधार बनाउँछौँ,” उनले भने।
उनका अनुसार मचाडोको हकमा अल्फ्रेड नोबेलले पुरस्कारका लागि तोकेका “सबै मापदण्ड” पुगेको छ।
