रुसी आक्रमणका कारण युक्रेनको ओडेसा क्षेत्रमा विद्युत सेवा अवरुद्ध
काठमाडौँ, असोज २५ । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागहरूमा शनिबार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति पुर्याएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले पछिल्लो बिजुली कटौतीले कति मानिसहरूलाई असर गरेको छ भनेर स्पष्ट पारेका छैनन् । तर, युक्रेनी ऊर्जा फर्म डिटिइकेले यस क्षेत्रको राजधानीका केही भागहरूमा विद्युत सेवा अवरुद्ध भएको रिपोर्ट गरेको छ। डिटिइकेका अनुसार आक्रमणका कारण यस क्षेत्रका दुई लाख ४० हजारभन्दा बढी घरहरूमा विद्युत आपूर्ति रोकिएको छ ।
क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममा भन्नुभयो, “हिजो राति दुश्मनले ओडेसा क्षेत्रमा ऊर्जा र नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।” उहाँले थप्नुभयो, “विद्युत क्षेत्रका इन्जिनियरहरूले बिजुली आपूर्ति पूर्ण रूपमा पुनःस्थापना गर्न हरसम्भव प्रयास गरिरहेका छन् ।” मस्कोले २०२२ मा आक्रमण गरेदेखि प्रत्येक हिउँदमा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आएको छ। विद्युत ग्रिडहरूमा हुने आक्रमणले लाखौं घरहरूको बिजुली र ताप कटौती गर्छ । र, किएभमा पानी आपूर्तिमा बाधा पुर्याउँछ ।
किएभले आक्रमणहरू मुख्यतया नागरिकहरूविरुद्ध लक्षित भएको दावी गरे पनि रूसले युक्रेनले लगाएको आरोपको खण्डन गर्दै युक्रेनी सेनाले ऊर्जास्थलहरू प्रयोग गर्ने गरेको बताएको छ । ठूलो मात्रामा रुसी आक्रमणका कारण राजधानी किएभ र अन्य नौ क्षेत्रमा बिजुली कटौती भएको भोलिपल्ट शनिबार यो अवरोध भएको हो ।
डिटिइकेले शनिबार बिहान भनेको छ, “आक्रमणपछि अवरुद्ध विद्युत सेवा राजधानीका करिब आठ लाखभन्दा बढी घरहरूमा पुनःस्थापना गरिएको छ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबारको रुसी आक्रमणलाई ‘शत्रुद्वारा गरेको उच्च क्षति’ को संज्ञा दिनुभएको छ र उहाँले पश्चिमा देशहरूलाई मस्कोमाथि प्रतिबन्ध बढाउन आग्रह गरेका छन् ।
