सुडानको अल-फासेरमा आरएसएफको ड्रोन आक्रमण : ३० जनाको मृत्यु, ‘नरसंहार’ को चेतावनी
काठमाडौँ, असोज २५ । पश्चिमी सुडानको घेराबन्दीमा परेको सहर अल-फासेरमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय कार्यकर्ता समूहले जनाएको छ । एल-फासेर प्रतिरोध समितिका अनुसार आरएसएफले विश्वविद्यालयको मैदानभित्र रहेको दार अल-अर्काम विस्थापन केन्द्रमा लक्षित हमला गरेको हो । उक्त केन्द्रमा युद्धबाट विस्थापित सयौँ नागरिकले आश्रय लिएका थिए । समितिले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई ‘नरसंहार’ को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेपका लागि आग्रह गरेको छ ।
समितिका कार्यकर्ताहरूका अनुसार धेरै शवहरू अझै भूमिगत आश्रयमा फसेका छन्। उनीहरूले भनेका छन्, “एल-फासेर अहिले भोकमरी र हिंसाको कारण खुला मूर्दाघरमा परिणत भएको छ ।” स्थानीय प्रतिरोध समितिहरू सुडानमा नागरिक सहायता समन्वय गर्ने र युद्ध अपराध तथा अत्याचारका घटनाहरू अभिलेख गर्ने स्वयंसेवी समूह हुन् । आरएसएफ र सुडानको नियमित सेनाबीचको युद्ध सन् २०२३ को अप्रिलदेखि जारी छ। यस भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिएको छ, लाखौँ नागरिकलाई विस्थापन गरेको छ र करिब २ करोड ५० लाख सुडानी नागरिकलाई तीव्र भोकमरीको जोखिममा पुर्याएको छ ।
अल-फासेर अहिले डार्फरको विशाल क्षेत्रमा आरएसएफको नियन्त्रणबाट अझै पनि स्वतन्त्र रहेको अन्तिम राज्य राजधानी बनेको छ । आरएसएफ पश्चिम सुडानमा आफ्नो शक्ति सुदृढ गर्न प्रयत्नशील रहेकाले यो क्षेत्र अहिले युद्धको नयाँ रणनीतिक मोर्चा बनेको छ ।
अहिले यो सहर आरएसएफद्वारा करिब १८ महिनादेखि घेराबन्दीमा छ । यहाँका करिब चार लाख नागरिक अत्यन्त कठिन परिस्थितिमा बाँचेका छन् । खाद्यान्न र आवश्यक वस्तुहरूको आपूर्ति पूर्णरूपमा बन्द छ । स्थानीय बासिन्दाहरूका अनुसार पशुखाद्य समेत सकिँदै गएको छ र अहिले एक झोलामा अन्न किन्न सयौँ अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था आएको छ। भोजनको अभावका कारण अधिकांश सूप भान्साहरू पनि बन्द हुँदा भोक र रोगको सङ्कट अझ गहिरो बनाएको छ ।
मानवअधिकार कार्यकर्ताहरूले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थाहरूलाई तुरुन्तै राहत तथा उद्धारको पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन् । अन्यथा अल-फासेरमा व्यापक नागरिक संहार हुने खतरा बढ्दै गएको उनीहरूको चेतावनी छ ।
