हमासले गाजा युद्धविराम सन्धि अन्तर्गत प्रख्यात प्यालेस्टिनी कैदीहरूको रिहाइको दबाब दिँदै
काठमाडौं, २६ असोज । गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरिएको युद्धविराम सन्धिको पहिलो चरण अन्तर्गत इजरायल र हामासबीच कैदीहरू र बन्धकहरूको आदानप्रदानको प्रक्रिया अघि बढ्दै गर्दा हामासले प्रख्यात प्यालेस्टिनी नेताहरूको रिहाइमा जोड दिएको छ।
हामासले इजरायलसँगको सहमति अन्तर्गत २ सय ५० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने सूचीमा फतह नेता मारवान बारघुटी र प्यापेलएफ नेता अहमद सादातलाई समावेश गर्न आग्रह गरिरहेको छ। तर इजरायली न्याय मन्त्रालयले हाल सार्वजनिक गरेको सूचीमा यी सात जना उच्च–प्रोफाइल नेताहरूको नाम नरहेको स्पष्ट भएको छ।
बारघुटीलाई सन् २००४ मा पाँच जना इजरायली नागरिकको हत्या योजनामा संलग्न रहेको आरोपमा पाँचवटा आजीवन सजायसहित थप ४० वर्षको जेल सजाय सुनाइएको छ। यद्यपि, उनी अझै पनि सबैभन्दा लोकप्रिय प्यालेस्टिनी नेताका रूपमा चिनिन्छन् र विभिन्न जनमत सर्वेक्षणहरू अनुसार राष्ट्रपति चुनावमा उनी हालका प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बास र हामास नेताहरूभन्दा अगाडि हुने देखिन्छ।
अर्का नेताहरू सादातलाई सन् २००८ मा इजरायली मन्त्री रहम खजेभको हत्या योजनामा संलग्न रहेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाइएको थियो। उनी प्यालेस्टिनी वामपन्थी समूह पपुलर फ्रन्ट फर लिबरेशन अफ प्यालेस्टाइनका प्रमुख हुन्।
बन्धकको रिहाइ प्रक्रिया अघि बढ्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको यो सन्धिको पहिलो चरणमा २० जना इजरायली बन्धकहरू सोमबार मध्यान्ह १२ बजे अगाडि रिहा हुने अपेक्षा गरिएको छ। यस सन्धिमा गाजाबाट १,७०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ हुने छ भने २ सय ५० जना आजीवन कारावास सजाय भोगिरहेका कैदीहरू पनि समावेश हुने बताइएको छ।
इजरायलले बन्धकहरूको स्वागतका लागि अस्पतालहरूमा तयारी गरिरहेको छ। यसअघि हामासले बन्धकहरूलाई सार्वजनिक रूपमा प्रदर्शन गरेपछि इजरायल र उसका पश्चिमी सहयोगीहरू आक्रोशित भएका थिए, यस पटक त्यो प्रक्रिया कस्तो हुने हो, प्रष्ट छैन।
यसैबीच, हामासले सन् २०११ मा इजरायली सैनिक गिलाद शालितको साटोमा रिहा गरिएका तर हाल पुनः पक्राउ परेका केही प्यालेस्टिनीहरूलाई पनि छुट्टै सूचीमा समावेश गर्न माग गरेको छ।
मानवीय अवस्था चिन्ताजनक, हजारौं गाजामा फर्किँदै
पहिलो चरणमा इजरायली फौजले गाजाका केही भूभागबाट आंशिक रूपमा फौज फिर्ता गरेसँगै युद्धविराम लागू भएको छ। दैनिक सयौँ राहत सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गर्ने बताइएको छ। दक्षिण गाजाबाट विस्थापित भएका सयौं हजार नागरिकहरू पुनः गाजा सिटी फर्किँदैछन् । जहाँ अधिकांश संरचना ध्वस्त छन्।
हामास–नियन्त्रित गाजाको नागरिक रक्षा विभागले भत्केका भवनहरूको भग्नावशेषबाट अझै शवहरू निकालिरहेको जनाएको छ। इजरायल र हामासबीचको यो द्वन्द्व सन् २०२३ अक्टोबर ७ मा हामासको हमलापछि सुरु भएको थियो, जसमा करिब १,२०० इजरायली मारिएका थिए र २५१ जना बन्धक बनाइएका थिए। त्यसयता, इजरायली हमलामा ६७,६८२ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
