संस्थापनद्वारा कार्यवाहक मागेको दाबी : शेखर पक्षद्वारा अस्वीकार
काठमाडौँ, असोज २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संस्थापनइतरका नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ । जेएनजी प्रदर्शनपछि भएको कुटपिटका कारण उपचाररत देउवा महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आउनुभएको छ ।सभापति देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार, भेटमा डा. कोइरालाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी माग गर्नुभएको थियो । तर, देउवाले विधानले कार्यवाहक सभापति दिन नमिल्ने भन्दै अस्वीकार गरेको ती नेताको दावी छ । “सभापतिले साथीहरूसँग सल्लाह गरेर निर्णय गरौँला भन्नुभएको थियो । हिजोको भेटमा विधानले तपाईंलाई कार्यवाहक दिँदैन भनेर स्पष्ट भनिदिनुभएको छ ।” देउवा निकट नेताको भनाइ छ ।
यता, डा. शेखर कोइराला निकट नेताहरूले भने कोइरालाले कार्यवाहकको माग नगरेको बताएका छन् । शेखर निकट एक केन्द्रीय सदस्यका अनुसार, “मंसिर मसान्तसम्म नियमित महाधिवेशन हुन नसके १५ दिन थपेर भए पनि गरौँ भन्ने शेखर दाइको धारणा छ । सभापति देउवासँग पनि त्यही कुरा राख्नुभएको हो ।” ती केन्द्रीय सदस्यले देउवाले कार्यवाहक दिए पनि शेखरले अस्वीकार गर्ने दाबी गरे ।
पार्टीको शीर्ष नेताको बैठकमा नेता बलबहादुर केसीले डा. शेखर कोइरालाको नाम नलिई उनलाई कार्यवाहक दिनुपर्ने आशय व्यक्त गरेका थिए । गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई वरिष्ठ नेता बनाएको उदाहरण पेश गर्दै केसीले कार्यवाहक तोक्दा विगतको नजिर हेर्नुपर्ने बताउनुभयो । बैठक स्रोतका अनुसार, केसीको भनाइलाई प्रवक्ता डा. प्रकाशशरण महतले समर्थन गर्नुभएको थियो । यद्यपि, नेता गोपालमान श्रेष्ठले भने वर्तमान समिति भंग गरी आफूलाई कार्यवाहक तोक्नुपर्ने विचार राख्नुभएको थियो ।
पार्टीभित्र केही नेताहरूले सभापति देउवाले कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कालाई दिने सम्भावना रहेको दाबी गरेका छन् । पार्टी वरीयतामा देउवापछि खड्का रहेका छन् । कार्यसम्पादन समितिका एक सदस्यले भने, “अहिले पूर्ण दाइलाई कार्यवाहक दिने र सभापति उपचारका लागि विदेश जाने तयारी जस्तो देखिन्छ । फर्केपछि सभापति पूर्ववत् जिम्मेवारीमा फर्कने मनसाय देखिन्छ ।”