पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न ‘कक्रोच’ आन्दोलनकारीको माग, मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी

एजेन्सी, ११ साउन । भारतमा शिक्षा प्रणाली सुधार र प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले देशभरका विभिन्न स्थानबाट पक्राउ परेका विद्यार्थी तथा प्रदर्शनकारीहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएको दुई दिनपछि आन्दोलनकारी समूहले विज्ञप्ति जारी गर्दै हिरासतमा रहेकाहरूलाई बिनासर्त रिहा गर्न र उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको हो ।

सीजेपीका अनुसार आसाम, पश्चिम बङ्गाल र बिहारलगायतका राज्यहरूमा ठुलो सङ्ख्यामा विद्यार्थीहरूलाई अझै पनि प्रहरी हिरासतमा राखिएको छ । “पक्राउ परेकाहरूलाई रिहा नगर्नु र उनीहरूमाथिको मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हो,” विज्ञप्तिमा भनिएको छ, “माग पूरा नभए हामी थप कडा कदम चाल्न बाध्य हुनेछौँ ।”

प्रतिस्पर्धात्मक परीक्षाहरूमा पटक–पटक प्रश्नपत्र चुहावट र अनियमितता भएको भन्दै विद्यार्थीहरूले गत मे महिनादेखि आन्दोलन सुरु गरेका थिए । ३० वर्षीय जनसम्पर्क स्नातक अभिजित दिपकेको नेतृत्वमा सुरु भएको यस ‘कक्रोच’ आन्दोलनले सामाजिक सञ्जालमा ठुलो समर्थन प्राप्त गरेको छ ।

गत जुलाई २० मा नयाँ दिल्लीको जन्तर–मन्तरबाट संसद् भवनतर्फ अघि बढ्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच उग्र झडप भएको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा कैयौँ विद्यार्थी घाइते हुनुका साथै धेरैलाई हिरासतमा लिइएको थियो ।
सोमबार भारतीय संसद्मा समेत यस विषयले प्रवेश पाएको छ । विपक्षी सांसदहरूले प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै सदनको कामकारबाही अवरुद्ध गरेका छन् । विपक्षीको चर्को विरोध र नाराबाजीका बीच सरकारले तल्लो सदनमा प्रश्नपत्र चुहावटमा संलग्न हुनेलाई कडा सजायको व्यवस्था गर्ने गरी नयाँ विधेयक दर्ता गराएको छ ।