शेयर बजारमा ३३ अङ्कको गिरावट, कारोबार रकम ६ अर्ब नाघ्यो

काठमाडौँ, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा साताको दोस्रो कारोबार दिन सोमबार ३३ दशमलव २८ अङ्कको गिरावट आएको छ । अघिल्लो दिन ७ दशमलव ९० अङ्कले बढेको बजार आज ओरालो लागेर २ हजार ७ सय १ विन्दुमा झरेको हाे ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको बजार मध्याह्न १२:१३ बजे २ हजार ७ सय ४४ विन्दुसम्म पुगेको थियो । तर, त्यसपछि लगातार घट्न थालेको बजार अन्तिम समयसम्म ओरालो लाग्यो । परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आइतबार ४ अर्ब ६७ करोडको सेयर किनबेच भएकोमा आज ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा कूल २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको मात्र मूल्य बढेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रह्यो । उपसमूहतर्फ बैङ्किङ समूह शून्य दशमलव १० प्रतिशतले बढ्नु बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २ दशमलव ३० प्रतिशतले घट्यो । यस्तै, व्यापार समूह २ दशमलव २३ र होटल तथा पर्यटन २ दशमलव २२ प्रतिशतले ओरालो लागे ।

यस्तै विकास बैङ्क १ दशमलव ८२, जलविद्युत् १ दशमलव ९०, जीवन बिमा १ दशमलव २५ र निर्जीवन बिमा १ दशमलव २१ प्रतिशतले घटेका छन् । आजको कारोबारमा हालै सूचीकृत भएको एभरेष्ट कलरको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भएको छ । यस्तै गोर्खाज फाइनान्सको ३ दशमलव ८६ र धौलागिरि लघुवित्तको मूल्य ३ दशमलव ११ प्रतिशतले बढेको छ ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १३ दशमलव ३८ प्रतिशतले घट्यो भने कर्पोरेट डेभलपमेन्ट बैङ्कको ९ दशमलव ६३ र कालङ्गा हाइड्रोपावरको मूल्य ८ दशमलव ५२ प्रतिशतले ओरालो लागेको छ । रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आइएमई बैङ्क, रिडी पावर, कुमारी बैङ्क र सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।