सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता
सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव मत्थर पार्न र साम्प्रदायिक सद्भाव कायम राख्न स्थानीय प्रशासनले विशेष पहल सुरु गरेको छ । जिल्ला सुरक्षा समिति र सर्वपक्षीय बैठकले जिल्लामा साम्प्रदायिक भड्काव रोक्न सक्रिय भएर लाग्ने निर्णय गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेले हाल उक्त क्षेत्रको सुरक्षा स्थिति पूर्ण रूपमा प्रहरीको ‘कमान्ड र कन्ट्रोल’ मा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सर्वपक्षीय बैठकमा सहभागी सबै राजनीतिक दल र सरोकारवालाहरूले हिंसा र तनाव रोकथामका लागि आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । “बैठकले साम्प्रदायिक सद्भाव बिग्रन नदिन र भड्कावजन्य गतिविधि रोक्न सबै पक्ष सक्रिय भएर लाग्ने निर्णय गरेको छ,” एसपी थेबेले भन्नुभयो, “अहिले देवानगञ्ज र कप्तानगञ्जको अवस्था सामान्य बन्दै गएको छ ।”
उहाँका अनुसार देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र नियन्त्रणमा भए पनि पूर्व–पश्चिम राजमार्गको लौकी र भोक्राहा क्षेत्रमा केही साना समूहहरूले सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । प्रहरीले राजमार्ग खुलाउन र स्थिति सहज बनाउन आवश्यक टोली परिचालन गरेको जनाएको छ ।
प्रहरीले आज कुनै नयाँ अप्रिय घटना वा थप मानवीय क्षति नभएको समेत स्पष्ट पारेको छ । हिजोको झडपमा परी एक जनाको मृत्यु भएको थियो । जिल्ला सुरक्षा समितिको बैठक निरन्तर बसिरहेको र थप सुरक्षा सतर्कता अपनाइएकाले स्थिति बिस्तारै सामान्यतर्फ फर्कँदै गरेको जनाइएकाे छ ।