जेनजी आन्दोलन

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, असोज २७ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरणका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरिएको छ । यस समितिमा विभिन्न क्षेत्रका १० जना विशेषज्ञहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ ।

संयोजक डा. शर्माले घाइतेहरूको वर्गीकरणका लागि मापदण्ड बनाउने कार्य सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेषज्ञहरूको टोलीसहित हामीले अध्ययन गरिरहेका छौँ । चोटपटकलाई सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।”

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।