कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति देउवा पनि सहभागी हुँदै
काठमाडौँ, २८ असोज। लामो समयको प्रतीक्षापछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे प्रारम्भ हुने यो बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवाको उपस्थितिले बैठकलाई थप महत्त्व दिएको छ।
बैठकमा प्रस्तुत गरिने एजेन्डाहरूमा सहमति जुटाउनका लागि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। शीर्ष नेताहरूबीच एजेन्डाका विषयमा अझै सहमति जुट्न नसकेकाले यसअघि आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक आजका लागि सारिएको थियो।
यसैबीच, आज मंगलबार नै पार्टीको विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको प्रस्ताव दर्ता हुनेछ। प्रस्ताव दर्ता गर्ने समय बिहान १० बजेसम्मका लागि थप गरिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको बताइएको छ, जसले विशेष महाधिवेशनको सम्भावनालाई थप बलियो बनाएको छ।