पाकिस्तान-अफगानिस्तान सीमा झडप: दर्जनौंको मृत्यु, तनाव उत्कर्षमा
काबुल/इस्लामाबाद । तालिवान सत्तामा फर्किएपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमामा भएको सबैभन्दा गम्भीर झडपमा दर्जनौं लडाकुहरू मारिएका छन्। दुवै पक्षले आइतबार यसको पुष्टि गरेका छन्।
पाकिस्तानको सेनाले झडपमा आफ्ना २३ सैनिकको मृत्यु भएको बताएको छ भने तालिवानले आफ्नोतर्फ ९ जनाको मृत्यु भएको जनाएको छ।
अफगानिस्तानमा रहेका आतङ्कवादीहरूले पाकिस्तानमा आक्रमण बढाएको भन्दै इस्लामाबादले तालिवानसँग कारबाहीको माग गरेपछि दुई देशबीच तनाव बढेको छ। सन् २०२१ मा सत्तामा आएको तालिवानले आफ्ना भूमिमा पाकिस्तानी आतङ्कवादीहरू नरहेको दाबी गर्दै आएको छ।
दुवै पक्षले एकअर्कालाई ठूलो क्षति पुर्याएको दाबी गरे पनि त्यसको कुनै प्रमाण पेश गरेका छैनन्। पाकिस्तानले २०० भन्दा बढी अफगान तालिवान र सम्बद्ध लडाकुहरूलाई मारेको बताएको छ भने अफगानिस्तानले ५८ पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरेको छ।
पाकिस्तानी हवाई आक्रमण र त्यसपछिको प्रत्याक्रमण
पाकिस्तानी सुरक्षा अधिकारीहरू र तालिवानका अनुसार, पाकिस्तानले बिहीबार काबुल र पूर्वी अफगानिस्तानको एक बजारमा हवाई आक्रमण गरेको थियो, जसले तालिवानको प्रत्याक्रमणलाई निम्त्यायो। पाकिस्तानले आधिकारिक रूपमा हवाई आक्रमणको पुष्टि गरेको छैन।
शनिबार राति अफगान सेनाले पाकिस्तानी सीमा चौकीहरूमा गोली चलाएको थियो। पाकिस्तानले त्यसको जवाफमा बन्दुक र तोपको गोला प्रहार गरेको बताएको छ।
दुवै राष्ट्रले एकअर्काको सीमा चौकी ध्वस्त पारेको दाबी गरेका छन्। पाकिस्तानी सुरक्षा अधिकारीहरूले अफगान चौकीहरूमा प्रहार भएको देखाउने भिडियो फुटेज सार्वजनिक गरेका छन्।
पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार, आइतबार बिहानसम्म अधिकांश झडपहरू रोकिएका थिए। तर, पाकिस्तानको कुर्रम क्षेत्रमा छिटपुट गोलीबारी जारी रहेको स्थानीय अधिकारीहरू र बासिन्दाहरूले बताएका छन्।
अफगानिस्तानको रक्षा मन्त्रालयले यसअघि नै मध्यरातसम्म आफ्नो कारबाही समाप्त भएको जनाएको थियो।
कतार र साउदी अरेबियाको हस्तक्षेप
काबुलले आइतबार कतार र साउदी अरेबियाको अनुरोधमा आक्रमणहरू रोकेको बताएको छ। यी दुई अरब खाडी राष्ट्रहरूले झडपबारे चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए।
तालिवान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार भने, “अफगानिस्तानको कुनै पनि भागमा कुनै किसिमको खतरा छैन। इस्लामिक इमिरेट्स र अफगानिस्तानका जनताले आफ्नो भूमि रक्षा गर्नेछन् र यस रक्षामा दृढ र प्रतिबद्ध रहनेछन्।”
मुजाहिदले केही क्षेत्रमा लडाई जारी रहेको पनि बताए।
सीमा नाका बन्द
पाकिस्तानी अधिकारीहरूले आइतबार अफगानिस्तानसँगको २,६०० किलोमिटर (१,६०० माइल) लामो सीमानाकाहरू बन्द गरेको बताएका छन्। यो विवादित औपनिवेशिक कालको सीमाना ब्रिटिशहरूले १८९३ मा निर्धारण गरेको ‘ड्युरान्ड रेखा’ को रूपमा चिनिन्छ।
स्थानीय अधिकारीहरूका अनुसार, टोरखाम र चमनस्थित अफगानिस्तानसँगका दुई मुख्य सीमा नाकाहरू र खर्लाची, अंगूर अड्डा र गुलाम खानका कम्तीमा तीन साना नाकाहरू आइतबार बन्द गरिएको थियो।
पाकिस्तानी हवाई आक्रमणहरू तालिवान नेता तथा विदेशमन्त्री अमिर खान मुत्ताकीको भारत भ्रमणसँगै भएको थियो। मुत्ताकीको भारत भ्रमणका क्रममा भारतले शुक्रबार सम्बन्ध सुधार गर्ने घोषणा गरेको थियो। भारत पाकिस्तानको लामो समयदेखिको प्रतिद्वन्द्वी हो, जसले इस्लामाबादमा चिन्ता बढाएको छ।(न्यूज एजेन्सी)
