स्वास्थ्य बिमा बोर्डको नयाँ व्यवस्था: कडा रोगका बिरामीलाई अब पुनः रिफर आवश्यक पर्दैन

काठमाडौँ, २८ असोज। स्वास्थ्य बिमा बोर्डले आफ्ना बीमितहरूका लागि महत्त्वपूर्ण निर्णय गर्दै कडा रोगका बिरामीहरूलाई प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण (रिफर) भएपछि सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः रिफर आवश्यक नपर्ने व्यवस्था गरेको छ।

बोर्डका उपसचिव पुण्यमाया गुरागाईंका अनुसार, प्रथम सेवा विन्दुबाट सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा बीमितहरूले भोग्नुपर्ने विभिन्न समस्यालाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको हो।

उनले एकपटक रिफर भइसकेका बिरामीलाई सोही अस्पतालमा पुनः उपचारका लागि जाँदा दोहोर्याएर रिफर आवश्यक नपर्ने बताइन्। यस सम्बन्धमा बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी जानकारी गराइएको छ।

यी अवस्थाहरूमा पुनः रिफर आवश्यक पर्दैन:
कडा रोगहरू: क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी (टाउकोमा चोट), स्पाइनल इन्जुरी (मेरुदण्डमा चोट), सिकलसेल एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा खालका रोग लागेका बिरामी।

विशेष वर्ग: अति गरिबीको परिचयपत्र प्राप्त परिवारका सदस्य, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगका बिरामी र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक।

अन्य जटिल स्वास्थ्य समस्या: आँखा स्वास्थ्यसम्बन्धीका जटिल समस्या, गर्भवती तथा सुत्केरी अवस्था, दम र कडा किसिमका मानसिक रोगको हकमा पनि पुनः रिफर आवश्यक नपर्ने जनाइएको छ।

हाल देशभरि स्वास्थ्य बिमा बोर्डका ३७७ वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था र ९८ वटा रिफरल स्वास्थ्य संस्था रहेका छन्। बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूलाई प्रेषण केन्द्रका रूपमा सूचीकृत गरेको छ। हाल बोर्डमा करिब ९४ लाख बीमित आबद्ध छन्।