पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकाको एक करोड ३० लाखभन्दा बढी आम्दानी
काठमाडौँ, असोज ६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थललाई आन्तरिक आम्दानीको प्रमुख स्रोतका रूपमा विकास गरेको छ । गाउँपालिकाले पर्यटकीयस्थलमा प्रवेश शुल्क सङ्कलन तथा चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३/८४ मा एक करोड ३० लाख ६६ हजार पाँच सय ५५ रुपियाँ आम्दानी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार पुनहिल, पाउद्धार तातोपानी कुण्ड, रातोपानी कुण्ड र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको छ । भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन तथा चमेनागृह सञ्चालनका लागि न्यूनतम नौ लाख ५० हजार रुपियाँ कायम गरी आह्वान गरिएको आय ठेक्काको प्रस्ताव मूल्याङ्कन भइरहेको उहाँले जानकारी दिनुभयो ।
पूर्वाधार निर्माणको तयारीमा रहेको भुरुङ्ग–तातोपानी कुण्डलाई असोज र कात्तिक महिनामा सञ्चालन गर्न आय ठेक्का आह्वान गरिएको हो । अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा प्रवेश शुल्क तथा चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले रु ७१ लाख पाँच सयमा ठेक्का सम्झौता गरेको छ ।
त्यसैगरी पाउद्धार तातोपानी कुण्डको आय ठेक्का ५० लाख १० हजार रुपियाँ, रातोपानी कुण्डको चार लाख पाँच सय रुपियाँ र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलनका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँमा सम्झौता भएको छ । यी पर्यटकीयस्थलका लागि गाउँपालिकाले क्रमशः ५२ लाख ५० हजार रुपियाँ, २७ लाख ५० हजार रुपियाँ, चार लाख रुपियाँ र दुई लाख रुपियाँ न्यूनतम ठेक्का रकम कायम गरी आय ठेक्का आह्वान गरेको थियो ।
न्यूनतम रकमभन्दा थोरै मात्र बढी कबोल गरेका व्यवसायीले ठेक्का रकम अग्रिम रूपमा राजस्व दाखिला गरेकाले कानुनबमोजिम १० प्रतिशत छुट पाएका छन् । सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनामा क्यान्टिन सञ्चालनका लागि भने कुनै प्रस्ताव परेको छैन ।
गाउँपालिकाले खोप्रा क्षेत्रमा सञ्चालित होटलबाट वार्षिक व्यवसाय करबापत प्रतिहोटल रु ३० हजार तथा सार्वजनिक जग्गा प्रयोग गरेबापत ३६ हजार रुपियाँ बहाल बिटौरी कर सङ्कलन गर्दै आएको छ । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा कफी पसलबाट समेत व्यवसाय कर उठाउने गरिएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा दुई करोड १२ लाख ७५ हजार रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको गाउँपालिकाले पर्यटकीयस्थलबाट मात्रै एक करोड १५ लाख रुपियाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार उक्त लक्ष्य प्राप्तिमा पर्यटकीयस्थलबाट हुने आम्दानीको योगदान प्रमुख रहनेछ ।
पुनहिल र भुरुङ्ग-तातोपानीमा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति ५० रुपियाँ तथा विदेशी पर्यटकका लागि १५० रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरनालगायतका पर्यटकीयस्थल तथा विभिन्न तातोपानी कुण्ड रहेको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विश्वको दशौँ तथा नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमालसमेत अवस्थित छ ।
पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमार्फत स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउने नीति लिइएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा भुरुङ्ग-तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि दुई करोड ३० लाख रुपियाँ विनियोजन गरिएको छ । उक्त योजना कार्यान्वयनको तयारीमा रहेको छ ।
