विद्युत् महसुलमा भ्याट छुट फिर्तामा सहमति भएको प्रचार गलत, मूल्य अभिवृद्धि कर कायमै-अर्थ मन्त्रालय
काठमाडौँ, ५ असोज । विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सहमति रहेको भन्ने प्रचारप्रति अर्थमन्त्रीको सचिवालयले खण्डन गरेको छ।
अर्थमन्त्रीको सचिवालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्री वाग्लेले उक्त विषयमा छलफल गर्न सोमबार साँझ वा गएको साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको छ।
सचिवालयका अनुसार विद्युत्को भ्याटसम्बन्धी विषयमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा राखेको धारणाअनुसार थप सहजीकरण तथा उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको छ।
‘विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको’ भन्ने प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले हालसम्म त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेका छन्।
