सर्लाहीको सोती खोला अतिक्रमणले सुक्दै, जैविक विविधता सङ्कटमा
सर्लाही, ६ असोज । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ। पानीको मुहान र जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्र उत्पन्न गरेको छैन, वातावरण संरक्षणमा पनि चुनौती थपिएको छ।
सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलालाई पछिल्ला केही वर्षदेखि सोती खोलामा बढेको अतिक्रमणको चिन्ताले सताउन थालेको छ। उनको घरबाट सय मिटरको दूरीमा एक दशक पहिलेसम्म फराकिलो सिमसार क्षेत्र थियो। झण्डै १६ बिघामा फैलिएको सिमसार अर्थात् सोतीको मुहान आज अतिक्रमणले हराइसकेको छ।
“यहाँ ठूलो सिमसार क्षेत्र थियो,” उनले स्मरण गर्दै भने, “वर्षातको पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो। हिउँदभरि भूमिगत (जरुवा) पानी निस्किएर सोती बग्थ्यो। अहिले त्यो सिमसार छैन। पानी त कहाँबाट आउनु। अहिले खोला सुकिसकेको छ।”
अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोती बरहथवा नगरपालिका प्रवेश गर्छ। विगतमा फराकिलो हिसाबले बगेको सोतीलाई बरहथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो, ढुङ्गा र ग्राभेल हालेर पुर्ने क्रम तीव्र बनेको छ, जसले नदीको मौलिक स्वरूप मात्र बदलिएको छैन, जैविक विविधता पनि हराउँदै गएको छ।
बरहथवा नगरपालिका–९, मूर्तिया निवासी विश्वनाथ महतोका अनुसार आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउन प्रयोग गर्ने गरेका थिए। “यो सोती देख्दा आज रोइरहेको भान हुन्छ,” उनले भने, “हाम्रो धार्मिक आस्था, खोलाको जैविक विविधतामाथि निरन्तर आक्रमण भइरहेको छ। हामीले यसैमा डुबुल्की मार्दै बालापन बिताएका हौँ। केही वर्ष पहिलेसम्म पशुबस्तु नुहाउनेदेखि भातभान्सासम्म यसैको भर थियो। अहिले हरेक वर्ष सोतीको सतह घट्दै गएको छ।”
सोती खोलालाई स्थानीयले माईका रूपमा पुज्ने परम्परा रहेको उनले जानकारी दिए। वर्षमा दुईपटक यसै नदीमा निराहार व्रत बसेर छठ पर्व मनाउने गरिन्छ। विगत केही वर्षयता सोतीको मुहानदेखि झण्डै चार किलोमिटरका क्षेत्रमा पानी पलाउने क्रम क्रमशः बन्द हुँदै गएको स्थानीयको अनुभव छ।
सिमसार पानीको मुहान रहेको यो खोला बागमती नगरपालिका–९ बाट सुरु भएर बरहथवा नगरपालिका, बसबरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर बागमती नदीमा मिसिन्छ। खोलाले यहाँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुर्याएको छ। अतिक्रमणपछि सङ्कटमा परेको सोतीसँगै भोलिका दिनमा आधा दर्जन पालिकाका उर्वर भूमि सिँचाइ अभावले बन्जर बन्ने जोखिम बढेको छ।
खोलामा एक दर्जन बाँध बाँधिएको छ, जसबाट नहर निर्माण गरी खेतका बाह्रै महिना सिँचाइको व्यवस्था गरिएको थियो। तर खोलामा पानीको सतह कम हुँदा सिँचाइका लागि पानीको अभाव हुन थालेको छ। बरहथवा नगरपालिका–८, टाडीका विक्रम यादवका अनुसार पानीको अभावका कारण स्थानीय किसानहरूबीच विवाद हुने गरेको छ। वर्षात् सुरु भएपछि मात्र नदीमा केही समय पानी बग्ने गरेको उनले उल्लेख गरे।
खोलामा पानी कम हुँदै गएपछि पछिल्लो तीन वर्षदेखि खेतमा डिप बोरिङ गरेर पानी पटाउने गरेको यादवले सुनाए। नजिकै खोला भए पनि रातभरि जाग्राम बसेर डिप बोरिङबाट पानी पटाउनुपर्ने अवस्थामा किसान पुगेका छन्।
करिडोर निर्माणले अतिक्रमण रोकिने आशा
खोला किनारमा जरुवा पानी निस्कने ठाउँमा पार्क, धर्मशाला र विभिन्न जात–समुदाय विशेषका सार्वजनिक भवन निर्माण भएका छन्। बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालका अनुसार खोला अतिक्रमण रोक्न पालिकाले करिडोर निर्माण गरेको छ, जसले अतिक्रमण रोकिने र संरक्षण हुने उनको भनाइ छ।
“खोला किनारमा तारजाली गर्नुपर्यो, बाटो बनाउनुपर्यो, खाली जमिनमा सार्वजनिक भवन बनाउनुपर्यो भन्दै आउनुहुन्छ। रोकौँ गर्न दिँदैनन्, विरोध हुन्छ। हामीसँग प्रदेश र सङ्घीय सरकारले समन्वय नै गर्नुहुन्न। संरचना निर्माण भइसकेपछि मात्र थाहा हुन्छ। हामीले के गर्नु?” प्रमुख कटुवालले भनिन्।
बरहथवा नगरपालिकाको नदी किनारमा फनपार्क, सार्वजनिक भवन र खुला व्यायामशाला निर्माण भएको छ। खोला संरक्षण, छठ घाटलगायतका शीर्षकमा सोतीको मौलिकता र विशेषताको वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी कङ्क्रिट ढलान गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐनले प्राकृतिक स्रोत, धार्मिक सम्पदा र जैविक विविधताको संरक्षण तथा सम्वर्द्धनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। सोअनुरूप काम हुन नसक्दा वातावरण, जैविक विविधता र वनस्पति सङ्कटमा पर्दै गएको छ।
