प्रतिनिधिसभाको बैठक अपराह्न बस्दै, नागरिक लगानी कोष विधेयकमाथि विचार हुने

काठमाडौँ, ६ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

यस्तै आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ।

स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ, जसमा ‘राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ, जसमा नेपालमा स्वदेशी–वैदेशिक तथा निजी–सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन र उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारलगायतका विषयमा छलफल हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ, जसमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *