मुस्ताङ भन्सारले सङ्कलन गर्यो सवा २ अर्ब राजस्व
मुस्ताङ, २८ असोज। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएयता २ अर्ब २४ करोड ३ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सोमबारसम्मको तथ्यांकअनुसार यो राजस्व सङ्कलन भएको हो।
विगतमा २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्र लक्षित गरी आंशिक रूपमा सञ्चालनमा रहेको कोरलानाका, पूर्ण रूपमा व्यापारिक कारोबारका लागि खुल्ला भएसँगै मुस्ताङ भन्सार कार्यालय थप सक्रिय बनेको छ। विभागले प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेपछि नाकामा व्यापारिक चहलपहल बढेको हो।
भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन लागेको र दसैँअघिसम्म कोरलानाकाबाट आयात/निर्यातबाट २ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए। दसैँ बिदाका कारण एक साताभन्दा बढी समय भन्सार कार्यालय बन्द हुन पुगेको थियो भने दसैँपछि सेवा पुनः सञ्चालनमा आएको हो।
आयात-निर्यातको अवस्था:
प्रमुख खड्काका अनुसार, हालसम्म चीनबाट आयात गरिएका ३८७ वटा मालवस्तु ढुवानीका साधनको भन्सार जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। यसैगरी, विभिन्न कम्पनीका १ हजार १९४ वटा विद्युतीय कारको पनि भन्सार जाँचपास सम्पन्न भएको छ। नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका ५ वटा मालवाहक साधन भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएका छन्। दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास भएको बताइएको छ।
जाडो याममा सञ्चालनमा चुनौती:
समुद्री सतहबाट ४ हजार ६१० मिटरको अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट बाह्रै महिना व्यापारिक आयात/निर्यात तथा भन्सार कार्यालयको सेवा प्रवाह गर्न भने कठिन देखिन्छ। हिउँदयामको मंसिरदेखि फागुन मसान्तसम्म अत्यधिक चिसो, हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा स्थानीय नागरिक र कर्मचारीहरूका लागि मौसम प्रतिकूलताका कारण नाका सञ्चालनमा चुनौती हुने गर्छ।
प्रमुख खड्काका अनुसार, नेपालतर्फको वातावरणमैत्री पूर्वाधारको अभाव र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रूपमा सञ्चालन गर्नमा थप चुनौती हुने गरेको छ।
