भारतले रुसबाट तेल नकिन्ने ट्रम्पको दावी
काठमाडौं, असोज ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल खरिद नगर्ने दाबी गर्नुभएको छ । बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको बताउनुभयो ।ट्रम्पले भन्नुभयो, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरा मित्र हुनुहुन्छ । हाम्रो सम्बन्ध अत्यन्तै प्रगाढ छ ।” उहाँले अगाडि थप्नुभयो, “भारतले रुसबाट तेल खरिद गर्दा म खुशी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ । यो एउटा ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।”
अमेरिकाले अगस्ट २०२५ मा रुसबाट तेल खरिद गरेको भन्दै भारतमाथि २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाएको थियो, जसले गर्दा भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ ।
मिडियाकर्मीहरूको प्रश्नमा ट्रम्पले हालै अमेरिकाका नयाँ राजदूत बन्न लाग्नुभएका सर्जियो गोर र मोदीबीच भएको भेटबारे उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसपछि सर्जियोले मलाई भन्नुभयो – मोदीले ट्रम्पलाई माया गर्नुहुन्छ । तर म चाहन्छु, ‘माया’ भन्ने शब्दलाई गलत अर्थ नलगाइयोस्, म कसैको राजनीतिक करियर बिगार्न चाहन्नँ ।”
ट्रम्पले वर्षौंदेखि भारतलाई नियालिरहेको र त्यहाँ प्रायः हरेक वर्ष सरकार बदलिने गरेको तर आफ्ना मित्र मोदी लामो समयदेखि सत्तामा रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “उहाँले अब भारतले रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ । यद्यपि यो तुरुन्तै रोकिने होइन, तर प्रक्रिया सुरु भइसकेको छ ।”
फेब्रुअरी २०२२ मा रुस-युक्रेन युद्ध सुरु भएपछि युरोपेली राष्ट्रहरूले रुसी तेलमा प्रतिबन्ध लगाएका थिए । त्यसपश्चात् रुसले आफ्नो तेल बिक्री एशियातर्फ मोडेको थियो । रिपोर्ट अनुसार, सन् २०२१ मा भारतले रुसी तेलको मात्र ०.२ प्रतिशत आयात गरेको थियो, तर २०२५ सम्म आइपुग्दा रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो । यो भनेको दैनिक औसत १.६७ मिलियन ब्यारेल हो । जुन भारतको कुल आवश्यकताको झण्डै ३७ प्रतिशत हुन आउँछ ।
भारतले रुसबाट अन्यत्रबाट भन्दा सस्तोमा तेल खरिद गरिरहेको छ । भारतीय निजी कम्पनीहरूले रुससँग दीर्घकालीन तेल सम्झौता गरेका छन् । त्यसैले यी सम्झौताहरू रातारात तोड्न सम्भव नहुने भारतीय अधिकारीहरूले बताउनुभएको छ ।
भारतले रुससहित इराक, साउदी अरब, अमेरिका लगायतका देशसँग तेल खरिद गर्दै आएको छ ।
