नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु: १५औं महाधिवेशन र विकसित राजनीतिक घटनाक्रममा छलफल
काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक जारी छ।
असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको यस बैठकमा आजदेखि औपचारिक रूपमा एजेन्डाहरूमाथि छलफल सुरु हुनेछ। बैठकको प्रमुख एजेन्डाहरूमध्ये १५औं महाधिवेशनको तयारी महत्त्वपूर्ण रहेको छ। मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र यसलाई असम्भव ठान्ने दुईथरी मत पार्टीभित्र रहेकाले यस विषयमा गहन छलफल हुनेछ।
‘जेनजी’ प्रदर्शनपछिको पहिलो केन्द्रीय समिति बैठक भएकाले विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनका बारेमा पनि विशेष छलफल हुनेछ। ‘जेनजी’ आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालयसहित सबै कार्यालयहरूको पुनर्निर्माणका विषयमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ।
बैठकका अन्य एजेन्डाहरूमा मुलुकको शान्ति सुरक्षाको अवस्था, प्राकृतिक विपत्तिको व्यवस्थापन, कार्यसम्पादन समितिका निर्णयहरूको अनुमोदन र विविध विषयहरू समावेश छन्। यस बैठकले कांग्रेसको आगामी रणनीति र सांगठनिक दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।