सरुवा रोग

ओखलढुङ्गा जिल्लाका १ सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि

काठमाडौँ, असोज ३१ । ओखलढुङ्गा जिल्लामा आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३० महिला गरी ९५ जनामा क्षयरोग पाइएको थियो। चालु आर्थिक वर्षको हालसम्म भने तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण देखिएको थियो। यसैगरी, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार, मोलुङ गाउँपालिकामा दुई र चिश्खुगढी गाउँपालिकामा एक जनामा क्षयरोग पुष्टि भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । चालु आव २०८२/८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई-दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा क्षयरोग सङ्क्रमण देखिएको छ ।

नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् । स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ ।

पछिल्लो समय कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । जिल्लाभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।