सुनको भाउ एकैदिन तोलामा ७,१०० रुपैयाँ बढ्यो

काठमाडौं, ३१ असोज । शुक्रबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।

एकैदिन तोलामा ७ हजार १०० रुपैयाँको विशाल वृद्धि भई सुनको मूल्य प्रति तोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि यो मूल्य निर्धारण गरेको हो। अघिल्लो दिन बिहीबार सुनको भाउ २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो।

विगत एक महिनाको तथ्यांक हेर्ने हो भने नेपाली बजारमा सुनको भाउ प्रति तोला ४३ हजार रुपैयाँले बढेको छ। भदौ ३० गते सुनको भाउ प्रति तोला २ लाख १५ हजार रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढिरहेकोले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो। शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलरको हाराहारीमा पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढिरहेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रति तोला ७५ रुपैयाँले चाँदी महँगिएको छ। अघिल्लो दिन प्रति तोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *