बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरुद्ध
काठमाडौँ, कार्तिक १ । बङ्गलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडानहरू अनिश्चितकालका लागि अवरुद्ध भएका छन् । विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएका कारण उडान सेवा अवरुद्ध भएको हो ।
फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमका अनुसार, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो । दिउँसो सुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई समेत परिचालित गरिएको थियो । ‘द डेली स्टार’ पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ ।
अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिएसँगै विमानस्थल केही घण्टाभित्रै पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तीमा चार जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको बताउनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
