हङकङ विमान दुर्घटनाः कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई ग्राउण्ड स्टाफको मृत्यु

 

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जना ग्राउण्ड स्टाफको ज्यान गएको छ। इमिरेट्सको फ्लाइट EK9788 दुबईबाट बिहान ३ः५० बजे अवतरण गर्ने क्रममा रनवेबाट अनियन्त्रित भई विमानस्थलको बार तोड्दै एउटा गस्ती सवारीसँग ठोक्किएको हो।

उक्त गस्ती सवारीमा सवार ३० र ४१ वर्षका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। उनीहरू क्रमशः ७ र १२ वर्षदेखि सेवा गर्दै आएका अनुभवी कर्मचारी थिए। विमानमा रहेका चारजना चालक दलका सदस्यहरू भने सकुशल उद्दार गरिएको छ।

विमान टर्कीको ACT Airlines बाट ‘वेट लिज’ (विमान, चालक दल, इन्स्योरेन्ससहितको भाडामा लिने प्रक्रिया)  अन्तर्गत इमिरेट्सले प्रयोग गरिरहेको थियो। दुर्घटनापछि विमानको पछाडिको भाग समुद्रमा डुबेको अवस्थामा भेटिएको छ र विमान दुई टुक्रा भएको तस्वीरहरूमा देखिन्छ। कम्तीमा एक इमर्जेन्सी स्लाइड प्रयोगमा आएको पुष्टि भएको छ।

विमानस्थल प्रशासनका अनुसार विमानले कुनै आपतकालीन संकेत नदिएको र गस्ती सवारी रनवे बाहिर सुरक्षित दूरीमा रहेको अवस्थामा विमानले बार तोड्दै ठक्कर दिएको हो। अधिकारीहरूका अनुसार, “सवारी रनवेमा पसेको थिएन, तर विमान नै अनियमित रूपमा मोडिएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *