नेपालमा वार्षिक करिब ५० हजार व्यक्तिलाई मस्तिष्कघात हुने
 
                              काठमाडौँ, कार्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्क घातबाट प्रभावित हुने गरेका छन् । नेपाल पक्षघात सङ्घले गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष ५० देखि ६० हजार मानिस यसबाट प्रभावित हुन्छन् । ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलका अनुसार नेपालमा हरेक १० मिनेटमा एकजनालाई मस्तिष्कघात हुन्छ । मस्तिष्कघात एउटा जटिल शारीरिक अवस्था हो जुन मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नहुँदा हुन्छ। मस्तिष्कमा अक्सिजन र पोषक तत्वको कमी भएमा वा रक्त धमनीमा रगत जमेर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । समयमै उपचार नगरे मस्तिष्क स्थायी रूपमा खराब हुन सक्छ वा व्यक्तिको मृत्यु पनि हुन सक्छ ।
नेपालमा मस्तिष्कघातको अवस्था र उपचारका लागि उपाय खोज्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घको स्थापना भएको थियो । सङ्घले विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तरराष्ट्रिय मापदण्ड तय गर्दै आएको छ । हालै सङ्घले विश्वका एक दर्जनभन्दा बढी मुलुकका ५०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’ पनि आयोजना गरेको थियो ।
सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलबर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँग सहकार्य गरी काम गरिरहेको छ । यस्तै, जिआइजेड र विश्व स्वास्थ्य सङ्गठनलगायतका संस्थासँगको सहकार्यमा नेपालको मस्तिष्कघातसम्बन्धी गाइडलाइन तय गर्ने काम पनि गरेको छ। सङ्घले मस्तिष्कघातसम्बन्धी निर्देशिका निर्माण गरी सरकारलाई बुझाइसकेको छ । डा. पौडेलका अनुसार मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ। यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । विश्वमा हरेक चारजनामा एकजनालाई र तीन सेकेन्डमा एकजनालाई पक्षघातको सम्भावना हुन्छ, जसबाट सजग हुनुपर्छ ।
विश्वभर प्रत्येक वर्ष १ करोड २० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुन्छन् । प्रभावितमध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिन जरुरी रहेको छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवनशैली, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना बढ्ने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातका लक्षण हुन् । यस्ता लक्षण देखिएमा चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव हुन्छ ।
मस्तिष्कघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरी बिरामीको उपचार गर्नुपर्छ । यसका अतिरिक्त फिजियोथेरापी पनि आवश्यक हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षघातको उपचार चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव हुन्छ ।
अक्टोबर २९ मा विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइन्छ। यस वर्ष ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, धापासीमा मस्तिष्कघातसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			