सामाजिक कामसँग जोडिँदै संस्कृति

देउसीभैलोबाट संकलित रकमबाट कुश्मामा बास्केटबल कोर्ट निर्माण

पर्वत, १३ कात्तिक: सदरमुकाम कुश्मामा देउसीभैलोबाट सङ्कलित रकमले बास्केटबल कोर्ट निर्माण कार्य सुरु भएको छ। पर्वत जिल्ला बास्केटबल सङ्घले कुश्मा नगरपालिका–५, बडागाउँमा यो कोर्ट बनाउन थालेको हो।

जिल्ला बास्केटबल सङ्घका अध्यक्ष मीनबहादुर पुनका अनुसार देउसीभैलोबाट सङ्कलित रु ५ लाख ८७ हजार ९८६ कोर्ट निर्माणमा प्रयोग गरिएको छ। सङ्घका सबै पदाधिकारी पनि श्रमदानमा जुटेका छन्। कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अपुग रकम नगरपालिकाले प्रदान गर्ने बताउनुभयो।

अध्यक्ष पुनले कोर्टमा फाइबर बोर्ड, प्याराफिट र तारजाली लगायतका संरचना निर्माण गरिने जानकारी दिनुभयो। यो कोर्ट करिब रु १४ लाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अध्यक्ष पुनले देशविदेशमा रहेका पर्वतका बास्केटबलप्रेमीहरूलाई कोर्ट निर्माणमा सहयोग गर्न अपिल गर्नुभएको छ।