शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने, हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौँ, १३ कात्तिक । ‘मोन्था’ चक्रवातका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभएअनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुनेछ भने अन्य प्रदेशमा मध्यम वर्षा हुनेछ ।
शनिबार बिहानदेखि मात्र मौसममा सुधार आउने सम्भावना रहेको छ । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो ।
प्रवक्ता पोखरेलले आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।