नर्सहरू आन्दोलित: देशभर प्रदर्शन, न्यूनतम तलब र सेवा सुविधाको माग
काठमाडौं, १४ कात्तिक । देशभरका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधाको सुनिश्चितताको माग गर्दै आन्दोलित भएका छन्।
शुक्रबार देशभरिका विभिन्न अस्पतालका नर्सहरूले सेवा–सुविधाको सुनिश्चितताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
सरकारी अस्पतालका नर्सहरूले पनि आफ्ना निजी क्षेत्रका सहकर्मीहरूसँग ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको मुख्य माग सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको व्यवस्था गरिनुपर्ने रहेको छ।
नेपाल नर्सिङ संघले अघि सारेको १५ बुँदे माग पूरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए।
उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता उपलब्ध गराउनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेलगायतका मागहरू अघि सारेका छन्।