अफगानिस्तान र पाकिस्तान युद्धविराम जारी राख्न सहमत

काठमाडौं, १४ कात्तिक । अफगानिस्तान र पाकिस्तानबीच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन्। टर्की र कतारको मध्यस्थतामा उनीहरूले अक्टोबर २५ देखि ३० सम्म इस्तानबुलमा श्रृंखलाबद्ध बैठक गरेका थिए।

टर्कीको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको संयुक्त विज्ञप्ति अनुसार बैठकको उद्देश्य “अक्टोबर १८–१९ मा दोहामा अफगानिस्तान र पाकिस्तानबीचको युद्धविरामलाई सुदृढ पार्नु” रहेको जनाइएको छ। परिणाम स्वरूप दुवै पक्ष युद्धविराम जारी राख्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आगामी “नोभेम्बर–६ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिहरूबारे छलफल गरी निर्णय गरिने” समेत जनाइएको छ।

विज्ञप्तिमा सबै पक्षहरू प्रमाणिकरण संयन्त्र स्थापना गर्न सहमत भएको उल्लेख गर्दै यसले शान्ति कायम राख्ने पक्षलाई सजाय दिने सुनिश्चित गर्ने जनाइएको छ।

सहमति पछि मध्यस्थकर्ताका रूपमा, टर्की र कतारले दुवै पक्षको सक्रिय योगदानको प्रशंसा गरेका छन् भने स्थायी शान्ति र स्थिरताका लागि दुवै पक्षसँग सहयोग जारी राख्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
इस्तानबुलमा पछिल्लो चरणको बैठक पाकिस्तान र अफगानिस्तानबीचको बढ्दो तनावको पछि भएको थियो।

पाकिस्तानसँग मित्रवत सम्बन्ध राख्ने टर्की र कतारले छलफललाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। कतारले यस अघि अफगान तालिबान र नेटो सेनाबीचको वार्ताका क्रममासमेत मध्यस्थकर्ताको रूपमा काम गरेको डनले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *