राजनीति र परराष्ट्र नीति

जेनजी आन्दोलनपछिको नेपालको राजनीति र परराष्ट्र नीतिमाथि विमर्श

काठमाडौँ,  कात्तिक २२ ।  त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले शासन प्रणालीमा सुधारसँगै संस्कार परिवर्तनमा जोड दिनुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तरराष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा. केसीले जेनजी आन्दोलनले सुशासनको परिकल्पना गरेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो पुस्तालाई अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिको महत्त्व बुझाउनुपर्ने धारणा राख्नुभयो ।

डा. केसीले राजनीतिक दल र नेताहरूको अपारदर्शी व्यवहारप्रतिको आक्रोशबाट जेनजी आन्दोलन जन्मेको भए पनि युवाहरूले अन्तरराष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनीतिक महत्त्व बुझ्न आवश्यक रहेको बताउनुभयो । यो विषय युवालाई बुझाउनु सबैको दायित्व भएको उहाँले प्रस्ट पार्नुभयो । गोष्ठीमा प्राध्यापक डा. युवराज सङ्ग्रौला र काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. चन्द्रलाल पाण्डेले जेनजी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा. सङ्ग्रौलाले जेनजी पुस्ताले चाहेको रूपान्तरणलाई बेवास्ता गर्न नमिल्ने भन्दै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । डा. पाण्डेले जेनजी आन्दोलन समाजको असन्तुष्टिको नतिजा भएको बताउँदै अन्तरराष्ट्रिय जगत्मा राष्ट्रिय अस्तित्व बलियो बनाउन कूटनीतिक सम्बन्धको चर्चा आवश्यक रहेको औँल्याउनुभयो ।

पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रहरूमाथि टिप्पणी गर्नुभएको थियो। डा. हरिप्रकाश चन्दले अन्तरराष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यबारे धारणा राख्दै विगतमा शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको गुनासो गर्नुभयो । उहाँले आगामी दिनमा अन्तरराष्ट्रिय कूटनीतिक विज्ञहरूसँग साझेदारी गरी परराष्ट्र नीतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्धका विद्यावारिधि (पीएच.डी.) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्तामा ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि बढ्दै गएको र यसले देशलाई अन्तरराष्ट्रियस्तरमा अब्बल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख अपेक्षा शाहको पनि उपस्थिति थियो ।