स्थानीय सरकारको स्वास्थ्य सेवा

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौँ,  कात्तिक २६ ।  काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो ।

स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा नगरपालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नगर प्रमुख दीपक रिसालले स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त यो उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको र यसले अझ प्रभावकारी, सुलभ र गुणस्तरीय सेवा दिन प्रोत्साहन गर्ने बताउनुभयो ।

नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर प्रमुख रिसालले जानकारी दिनुभयो । ‘योग नगर’ घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडामा हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा छन्। गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका छन् । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो।