अन्नपूर्ण गाउँपालिकाबाट टोल-टोलमा स्वास्थ्य परीक्षण सेवा

काठमाडौँ, कार्तिक २९ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले टोल-टोलमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइको पहुँच नपुगेका टोलहरूमा स्वास्थ्यकर्मीहरू खटाएर विभिन्न रोगहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरिँदैछ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालका अनुसार, हरेक महिना स्वास्थ्यकर्मीको टोली प्रत्येक टोलमा पुगेर चिनीरोग (सुगर) र रक्तचाप (प्रेसर) को निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । “ज्येष्ठ नागरिक, बालबालिका र विपन्न वर्गलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो,” बरुवालले भन्नुभयो, “रोगको पहिचान गरी उनीहरूलाई उपचारको पहुँचमा ल्याउन यो कार्यक्रम प्रभावकारी बनेको छ ।”

गत आर्थिक वर्षमा यस कार्यक्रमबाट १,२०० जनाले लाभ लिएका थिए । कार्यक्रमको सफलतापछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीहरूलाई टोल-टोलमा परिचालन गरिएको छ । स्वास्थ्य संस्थामा पाइने औषधि लिएर जाने स्वास्थ्यकर्मीहरूले परामर्शका साथै निःशुल्क औषधि पनि उपलब्ध गराउँछन् । परीक्षणका क्रममा समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि अस्पताल जान सुझाउने गरिन्छ। साथै, बालबालिकालाई खोप, गर्भवती र नवजात शिशुको तौल लिने काम पनि टोलमै गरिन्छ ।

अन्नपूर्ण गाउँपालिका-५ स्वाँतकी वीनाकुमारी तिलिजाले टोलमै सेवा पाउँदा समयको बचत भएको र उपचारमा सहज पहुँच पुगेको बताउनुभयो। अन्नपूर्ण गाउँपालिकामा ८ वटा वडा, ८ वटा स्वास्थ्यचौकी, ६ वटा सामुदायिक स्वास्थ्य एकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले छरिएका बस्तीहरूमा स्वास्थ्यचौकी तथा एकाइमा पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था भएकाले स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। यसैगरी, अन्नपूर्ण गाउँपालिकाले तोकिएको समयमा गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने महिलाहरूलाई घरमै पुगेर भाले उपहार दिने गरेको छ ।

गाउँपालिकाले लगातार दोस्रो वर्ष पनि घरमा प्रसूति हुनेको संख्या शून्यमा झार्न सफल भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ७९ जना र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/८० मा १३९ जनामध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए भने एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन अन्नपूर्ण गाउँपालिकाले गरेको यो प्रयास सराहनीय छ।